काठमाडौं – सरकारले अब उप्रान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न निर्देशन दिएको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रमा उल्लेख छ ।
कानून मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ । त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
कानून मन्त्रालयको परिपत्र –

सरकारले आफ्नो मातहतमा जारी गरेको सर्कुलरमा ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ लेख्ने’ निर्देशन दिइएको छ ।
कानून मन्त्रालयले पठाएको यही परिपत्रमा टेकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट कात्तिक ५ गते देशभरिका सबै (७५३) स्थानीय तहलाई निर्णय कार्यान्वयनका लागि परिपत्र पठाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयको परिपत्र –

सरकारले नेपालको नामसहित अन्य केही शब्दमा समेत परिमार्जन गरेको छ । जस्तो, राज्य (स्टेट) भन्ने शब्दको सट्टा प्रदेश (प्रोभिन्स) शब्द प्रयोग हुने परिपत्रमा उल्लेख छ ।
नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भइरहेका विभिन्न १६ वटा शब्दहरुलाई सरकारले सच्याउने निर्णय गरेको छ ।
