अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प

107

काठमाडौं – डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। बुहमत सिट (२७०)भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन्। पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिट जितेकी छन्।

आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए।

विजय भएसँगै ट्रम्पले अमेरिकाको लागि स्वर्ण युग हुने बताएका छन्। ‘यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने।

उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ। चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो।

ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन्। राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम रहेको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गरे।

समाचार वर्गहरू