आज हरिबोधिनी एकादशी पर्व, तुलसी र दामोदरको विवाह

54
तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समाचार वर्गहरू