काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदैछन् । परीक्षा बिहान ११ बजेदेखि प्रारम्भ भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।
यसअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् ।
यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो । परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।