आजबाट कक्षा १२ को परीक्षा : ४५ दिनमा परीक्षाफल प्रकाशित हुने

78

काठमाडौं। यस वर्षको कक्षा १२ को परीक्षा आज सोमवारबाट सुरु हुँदै छ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्स अध्ययन गर्ने विद्यार्थीले ३ वर्षसम्म परीक्षा दिने अवसर पाएका कारण गतवर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिए । गतवर्षको तुलनामा यस वर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् ।

यो वर्षको परीक्षामा ५ हजार ३ सय ३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये १ लाख ७२ हजार १२ छात्र र १ लाख ६० हजार १ सय ३७ छात्रा र अन्य २ सय ९० परीक्षार्थीले सहभागी हुँदै छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० परीक्षार्थीहरू सहभागी हुनेछन् । यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३ सय ३८ परीक्षार्थी सहभागी हुँदैछन् ।

यो वर्ष देशभर १ हजार ४ सय २० र जापानमा १ समेत गरी कुल १ हजार ४ सय २१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ६१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १–१ केन्द्र निर्धारण गरिएको छ ।

बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ । प्रदेशगत रूपमा कोशी ६७ हजार ४ सय ९७, मधेस ६२ हजार १ सय १४, वागमती १ लाख २० हजार ४ सय ७७, गण्डकीमा ३० हजार ५ सय ४६, लुम्बिनी ६९ हजार ४ सय ११, कर्णाली ३० हजार ४ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार ४ सय ४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन् ।

परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षा सकेको ४५ दिनमा परीक्षाफल प्रकाशित हुनेछ । गएको वर्ष ७८ दिनमा परीक्षाफल प्रकाशित भएको थियो, यो वर्ष ४५ दिन अर्थात् असार १५ भित्र परीक्षाफल प्रकाशित भइसक्नेछ ।

समाचार वर्गहरू