काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने बताएका छन्।
आइतबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलमा यस्तो अराजकता रहिरहे आफू प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका हुन्। ‘जनताले यो कुरा सहँदैन नि, किन सहने?,’ उनले भने।
साथै उनले सम्पादकहरूलाई विशेष सम्पादकीय लेखेर आफूलाई ल्याउन पहल गर्ने पनि दाबी गरे। उनले भने, ‘तपाईंहरूले विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ। नलेख्नुपर्ने कारण छन् भने भन्नुस्।’
निवर्तमान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको बताए।
उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको बताए।