काठमाडौं – जनमत पार्टीको उपाध्यक्ष पदको गरिएको मनोनयनप्रति पार्टीभित्र गम्भीर असन्तुष्टि सार्वजनिक भएको छ। स्थायी समिति सदस्य दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वमा ‘परिवारवाद’ मौलाएको आरोप लगाएका छन्।
पार्टी अध्यक्ष सीके राउतले आफ्ना दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा नियुक्त गरेपछि साहले यो निर्णय संस्थागत राजनीतिका लागि घातक भएको बताउँदै तीव्र आपत्ति जनाएका हुन्।
उनले विगतमा अध्यक्षकी श्रीमती बबिता कुमारी राउतलाई पनि उपाध्यक्ष पदमा मनोनीत गरिएको उदाहरण दिँदै, ‘पारिवारिक प्राथमिकता’को प्रवृत्तिले पार्टीभित्र गहिरो असन्तुलन सिर्जना गरेको दाबी गरे ।
साहले पार्टी संघर्षमा योगदान दिने कबिन्द्र यादव, सुरेन्द्र नारायण यादवजस्ता समर्पित नेताहरूलाई उपेक्षा गरिएको आरोप पनि लगाएका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार अध्यक्ष राउतका दाजुलाई विगतमा सांसदको उम्मेदवारदेखि योजना आयोगको सदस्य, राष्ट्रिय परिषदको अध्यक्ष र संगठन विभाग प्रमुखजस्ता जिम्मेवारी दिइएको थियो।