ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

17

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन् । मन्त्री पुन र रसियन राजदूत एलेक्सिइ ए नोभिकोभबीच भएको भेटवार्तामा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।

नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरेका हुन् । भेटवार्तामा द्धिपक्षिय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिककाल देखि नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए ।

उनले रसियाले विगतमा पनि पनौती हाईड्रो, पूर्व पश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसंग आग्रह समेत गरेका थिए ।

उनले भने, ‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाट भन्दा माथीको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनु पर्यो ।’ जवाफमा राजदूत नोभिकोभले ऊर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागि वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता जनाए ।

समाचार वर्गहरू