‘एउटा जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्ता कुरा बोलेर हिँड्दैन’ – ओली

6
फाइल फोटो

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई जँड्याहाको संज्ञा दिएका छन्।

पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताए।

सांसद दाहालले जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति दिएकाले एमालेले त्यसविरुद्ध संसद् अवरुद्ध गर्नुपरेको पनि अध्यक्ष ओलीले बताए। उनले भने, ‘एउटा जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्ता कुरा बोलेर हिँड्दैन। पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भन्ने यस्तो खालको बकबास, संसदजस्तो गरिमामय ठाउँमा?’

सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह भएको ओलीको जिकिर थियो।

ओलीले भने, ‘जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु। त्यही मान्छेका विरुद्ध देशद्रोही तत्त्वहरूले, देशमा कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने यो देशद्रोही काम हो।’

आफू पूर्वाञ्चल जाँदा ढुंगा हान्नेसम्मका क्रियाकलाप हुँदा पनि सरकारले ती मान्छेलाई गिरफ्तार नगरेको भनेर ओलीले आपत्ति जनाए। उनले भने, ‘यसरी सरकारले हिंसालाई बढावा दिइराखेको छ। हिंसावादीहरूको मनोबल उठाउने काम गरिराखेको छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू