एकछिन है ! ट्राफिक छ अगाडी

34

राधा ढुंगाना/काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेहरु मलाइ जिस्क्याउन माक्स लगाएर हिड्छन् भनेता पनि धुँवा, धुलो र सवारी चापका कारण अति नै व्यस्त रहने सडक हो, काठमाडौँको चावहिल क्षेत्र । हिलो, धुलो र खाल्डाखुल्डी त्यसमाथि सवारी जामका कारण सवारी साधनलाई सडक छिचोल्न हम्मे–हम्मे नै पर्ने गर्छ । त्यहि सडकखण्ड अन्तर्गत कपन–सुन्धाराको लागि टेम्पो चलाउँदै चाबहिल चोक आईपुगिन् एक जना महिला टेक्पो चालक । झट्ट हेर्दा अपहरणकारी झैँ देखिने तर शालिन ति महिला चालक आँफै हतारमा थिइन् किनभने, एक टिप भएपनि बढि यात्रु ओसार्दा झण्डै ५ सय अतिरिक्त कमाई हुन्छ उनलाई ।

टेम्पोको एकातिरको सिटमा ५ जना र अर्कोतिरको सिटमा ५ जना अनि अगाडी दुई जना यात्रु थिए । त्यतिमात्र होईन्, अफिस टाईम भएकाले होला, टेम्पोमा ३ जना यात्रु उभिएका पनि थिए । टेम्पो चाबहिलबाट सुन्धारा तिर अघि बढिरहेको थियो । पछाडीपट्टीको भागमा “फैका–सुन्धारा” लेखिएको टेम्पो कपनबाट चाबहिल, मित्रपार्क, गौसाला, पुरानोबानेश्वर, मैतिदेवि, पुतलीसडक हुँदै सुन्धारासम्म पुग्छ । सोहि रुटमा यात्रुहरु चढ्ने–ओर्लने क्रम भईनै रहन्छ ।

म पनि त्यहि टेम्पोमा यात्रारत थिए । मित्रपार्कबाट अलि अघि बढ्दै गर्दा एक जना यात्रुले भने, ‘दीदी यहि हो रोकिदिनुस् न ।’ रातै कुर्ता सरुवाल, टाउकोमा टोपी र रातो सलले अनुहार पुरै ढाकेर टेम्पोको स्टेरिङ घुमाउँदै गरेकी ति महिलाले भनीन, ‘छिटो झर्नुस् है यहाँ रोक्न दिँदैन्, अगाडी ट्राफिक छ ।’ यात्रु टेम्पोबाट ओर्लिए र अगाडी गएर भाडा झिकेर दिए १ सय रुपैँया । यात्रुले दिएको भाडा लिएपछि निक्कै झोक्किँदै उनले भनीन, ‘भित्रैबाट भाडा दिनुपर्छ नि, ट्राफिकले रोक्न दिँदैन् भन्ने थाहा छैन् ? १५ रुपैँयाको लागि अहिले हजार रुपैया जान्छ ।’

उनलाई चिन्ता थियो एक यात्रुका कारण एक हजार रुपैँया गुमाउनुपर्ने पो हो कि भनेर । ती यात्रु पैसा फिर्ता लिएर हिँडे । उनले टेम्पो अघि बढाईन् रपनि उनलाई ती यात्रुप्रति रिस उठिनै रह्यो । उनी भन्दै थिईन्, ‘कस्ता–कस्ता हुन्छन् मान्छे, बुझ्दीनुपर्छ नि हाम्रो पनि समस्या ।’ हेर्दा अधवैंसे उमेरकी देखिन्थीन उनी । उनको बोली सुन्दा लाग्थ्यो, अलि कडा स्वभावकै छन् कि ?

ट्राफिक जामले टेम्पो रोकियो । त्यतिबेलै उनको फोन आयो, फोन रिसिभ गरिन् र भनिन्, ‘अँ छोरी म अहिले जयबागेश्वरी छु, तिमी उठ्यौँ ? केहि बनाएर खाँदै गर म आउन ढिला हुन्छ ।’ केहिछिन मै जाम खुल्यो । टेम्पो अघि बढ्दै थियो फेरी उनको फोन आयो । अगाडी ट्राफिक प्रहरी थिए । यता, ति महिला टेम्पो चालक देब्रे हातले टेम्पोको स्टेरिङ घुमाउँदै थिइन् भने दाईने दातले फोन समातेर कुरा गर्दै थिईन् । ट्राफिक प्रहरी उभिएकै छेउमा टेम्पो पुग्नै लाग्दा बोलीरहेको फोन तल झारिन् तर फोन काटिएको थिएन । जयबागेश्वरी चोकबाट टेक्पो क्रस भयो फेरी फोन काँनमा पुर्याइन र भनीन, ‘ट्राफिक थियो अगाडी, अँ भन्नु त !’ उनको फोनको कुरा सुन्दा खासै महत्वपुर्ण कुराकानी नभई कुनै साथीसँग कुरा गरेको जस्तो आभाष हुन्थ्यो सुन्नेलाई ।

त्यहीक्रम दोहोरियो, गौसाला चोक आईपुग्दासम्म । गौशाला चोकमा आइपुग्दासम्म फोन नराखेकी उनले फेरी भनीन, ‘एकछिन है ट्राफिक छ अगाडी ।’

उनले एकातिर सवारी चलाउँदा मोवाईल फोन चलाएर ट्राफिक नियम उल्लंघन त गरिन नै, अर्कोतिर कलिला बालवालिकाको टेलिफोन रिसिभ नगर्दा बच्चाको मनोविज्ञानमा कस्तो असर पर्ला भनेर नै ट्राफिक नियम उल्लंघन गरेको प्रष्टै देखिन्थ्यो । यो उनको मात्रै समस्या नभएर कामकाजी अन्य सवारी चालकको पनि आम समस्या हो । पारिवारिक समस्यालाई मध्यनजर गर्दा टेलिफोन रिसिभ गर्नुलाई सामान्यत जायज मान्न सकिएला तर त्यसबाट हुने दुर्घटना झनै भयावह हुने देखिन्छ । सवारी चलाउँदा टेलीफोन प्रयोग गर्न नमिल्ने कुरा सामान्य ट्राफिक नियम हो, तर यो कुरालाई सवारी चालकले गम्भिर रुपमा लिने गर्दैनन् । सवारी दुर्घटनाको कारणमध्ये टेलिफोन प्रयोग पनि एक कारण हो । कतिपय सवारी दुर्घटना सवारी चलाउँदा टेलिफोन प्रयोगकै कारण हुने गरेको पनि पाईन्छ ।

ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउनु आफु र यात्रुको यात्रा जोखिमपूर्ण बन्नु हो भन्ने कुरा सवारी चालकले बुझ्न जरुरी छ । नत्र भने सवारी चालकले गर्ने ट्राफिक नियम उल्लंघका कारण मानिसको ज्यान जाने सम्मको दुर्घटना नहोला भन्न सकिन्न । यसमा सवारी चालक नै सवैभन्दा बढि जिम्मेवार हुन हुनुपर्छ भने ट्राफिक नियम पूर्ण पालना गराउनको लागि राज्यले पनि ध्यान दिन आवस्यक छ ।

समाचार वर्गहरू