एमालेबाट द्वारिकलाल चौधरी निष्कासित

96
फाइल फोटो

काठमाडौं – एमालेले इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा एमाले कोशी प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई ६ महिनाका लागि निष्कासन गरिएको छ।

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खुलारूपमा अभिव्यक्ति दिएको र पार्टीको नियम विपरीत व्यवहार गरेको आरोपमा कारबाही गरिएको एमाले कोशी प्रदेश कमिटीका उपसचिव देवान राईले बताए।

राईका अनुसार चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको भए पनि उनले चित्तबुझ्दो जवाफ नदिएकाले साधारण सदस्यता समेत नरहने गरी निष्कासनको निर्णय गरिएको हो। उनले चौधरीले लामो समयदेखि पार्टी नेतृत्वमाथि अनावश्यक टिप्पणी गर्दै आएका कारण संगठन चलायमान राख्न कठिनाइ भएको बताए।

पार्टीको आधिकारिक संरचना तथा नेतृत्वलाई सार्वजनिक रूपमा पटक-पटक आक्रमण गर्ने, विचारभन्दा बाहिर गएर व्यक्तिगत आरोप लगाउने र अनुशासनहीन व्यवहार दोहोर्याउँदै गएको आरोप चौधरीमाथि लगाइएको छ।

चौधरीले भने आफूविरुद्ध गरिएको कारबाही ‘नियोजित नाटक’मात्र भएको प्रतिक्रिया दिएका छन्। हालः महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेका बेला आफ्नो लोकप्रियता र सक्रियताबाट आतुर भएर नेतृत्वले जानीजानी आफूलाई हटाउने काम गरेको उनले आरोप लगाए।

समाचार वर्गहरू