काठमाडौं – नेकपा (एमाले)ले आगामी २१ फागुनमा हुने आम निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।
बुधबारदेखि तीन दिन चलेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाले मात्रै देशलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्ने जनाएको छ।
‘केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ भन्ने माग गर्दछ र त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्दछ,’ बैठकको निर्णयमा भनिएको छ।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको एमालेको आरोप छ। निर्वाचन हुन नसक्दा र प्रतिनिधिसभा पुन:स्थापना नहुँदा देशमा ठूलो रिक्तता उत्पन्न हुने जनाइएको छ। ‘निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना हुनेछ,’ एमालेको ठहर छ।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले नहुने चुनावमा एमालेले भाग नलिने बताएका छन्। बैठकमा अध्यक्ष ओलीले एमालेले चुनावमा भाग नलिने बताउँदा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरूले त्यसको विरोध गरेका थिए।
बैठकले निर्वाचनको कार्यादेश पाएको सरकार परिस्थिति बिगार्न लागेको निष्कर्ष निकालेको छ। ‘निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत देखिन्छ। निर्वाचनको मूल पक्षका रूपमा दलहरूसँग संवाद, परामर्श र सहकार्य त परै छाडौँ, सम्पर्कसमेत गर्न चाहिरहेको छैन। उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको छ,’ एमालेले भनेको छ।
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले २१ फागुनमा चुनाव गराउने घोषणा गरेको छ।
एमालेले नेताहरूलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको जनाएको छ।