काठमाडौं – नेकपा एमालेका नेता ऐन महरलाई कारबाही माग गर्दै एकजना युवती १७ दिनदेखि माइतीघरमण्डलमा अनशन बसिरहेकी छिन् ।महरले आफूलाई जबरजस्ती करणी गरेकोले कानुनी कारबाहीको माग गर्दै बझाङको बुंगलकी रोशनी धामी अनशनमा बसेकी हुन् ।
जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।
उच्च अदालत पाटनबाट महरविरुद्ध परमादेश जारी गर्दै गत पुस ६ गतेदेखि उनी अनशन बसेकी छन् । उनले न्याय कहिले हुन्छ ? राजनीति गर्नेलाई बलात्कार गर्ने छुट हो ? भनेर सरकारलाई प्रश्न गरेकी छन् ।
‘राज्यले कि न्याय दे, कि मेरो मृत्युको जिम्मा ले, सडक रोज्नु रहर नभएर बाध्यता हो, बलात्कार पीडितका लागि न्यायालय संवेदनशील कहिले हुने, पीडितमाथि प्रहरीको दमन बन्दर गर’ जस्ता नारासहित उनी धर्नारत छिन् । उनलाई केही दिनअगाडि माइतीघर मण्डलमै केही युवाह कुटपिटसमेत गरेका थिए ।
महरले उनलाई हनी ट्रयापिङ (आपराधिक लाभको कसुर) मा जाहेरी दिएपछि प्रक्राउ परेकी थिइन् । महरले राजनीतिक शक्तिको दुरुपयोग गरेको भन्दै उनी अब अनशनमा छिन् ।