ओलीको संसद् पुनर्स्थापना प्रस्तावमा एमालेभित्र मतभेद

45

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको प्रस्ताव गरे पनि केही केन्द्रीय कमिटी सदस्यहरूले भने निर्वाचनमा केन्द्रित हुनुपर्ने मत राखेका छन् ।

जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गरेर पार्टीको धारणा बनाउन बुधबार सुरु भएको दसौँ बैठकमा अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमाथि छलफलका क्रममा केही सदस्यहरूले प्रतिनिधि सभा पुनर्स्थापनामा नलागेर चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

चुनावको पक्षमा धारणा राख्ने केन्द्रीय सदस्यहरूमा विष्णु रिजाल, हरि राई, सोम मिश्रलगायत रहेको एक केन्द्रीय सदस्यले बताए ।

‘हामीले प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्ने हो भने सुशीला कार्कीको सरकार खारेज गर्नुपर्छ’, रिजालको भनाई उद्धृत गर्दै ती सदस्यले भने, ‘किनभने सुशीला कार्कीको सरकार र प्रतिनिधि सभा पुनर्स्थापना सँगै जान सक्दैनन् ।’

रिजालले कार्की प्रतिनिधि सभा सदस्य समेत नरहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वास गुमाएर वा सहभागी दलको समर्थन फिर्ता लिएर राजीनामा नदिएको बताएका थिए ।

‘खासमा भन्दा हामीले नसकेर सरकार छाडेको हो’, रिजालको भनाइ थियो । पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यले धारणा राखेकोमा विद्या भण्डारीको सदस्यताका बारेमा विद्यासुन्दर शाक्य, शर्मिला कार्की, सरिता न्यौपाने, हरि राईलगायतले बोलेका थिए ।

उनीहरुले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिएर पार्टीमा स्वागत गर्नुको विकल्प नरहेको धारणा राखेका थिए ।

समाचार वर्गहरू