कर्ण थापालाई एमाले मुख्यालयमा ओलीकै अगाडी धक्कामुक्की

111

काठमाडौं – नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्ण थापामाथि पार्टी कार्यालयमै दुर्व्यवहार भएको छ ।

११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमका लागि च्यासल पुगेका थापालाई केही युवाले धकेलेका हुन् ।

आज मध्यान्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा लोगो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । ओली गाडीबाट ओर्लिएर कार्यालय भवनभित्र प्रवेश गरिरहँदा थापा भने पहिल्यै नै त्यहाँ पुगिसकेका थिए ।

ओलीलाई बाटो दिन केही युवाले थापालाई धकेलेर ‘साइड’ लगाएको सार्वजनिक भिडियोमा देखिन्छ । युवाहरुले गुण्डागर्दी शैलीमा समातेपछि थापाले ‘यो के गर्न खोज्नु भा” ? के गर्न खोज्या ?’ भनेर प्रतिकार गरेका थिए ।

तर ओली अगाडि गएपछि मात्र थापालाई ती युवाहरुले छाडेको भिडियोमा देखिएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्नुपर्ने विषयमा पार्टीभित्र चर्को आवाज उठाउँदै आएका थापालाई ओली पक्षधर युवाहरुले अपमान गरेको प्रस्ट देखिन्छ ।

यसैबिच थापालाई दुर्व्यवहार गर्ने दाङका युवाको पहिचान खुलेको छ । तुलसीपुर-६ निवासी कृष्णसागर वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा पटक पटक पक्राउ गरेको पाइएको छ ।

सामूहिक बलात्कारमा सर्वोच्च अदालतबाट मतियार प्रमाणित भएका उनी सजाय भुक्तान गरिसकेका पात्र हुन् । राष्ट्रिय युवा संघमा सक्रिय उनी २०७९ को निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनी औपचारिक रूपमा एमालेमा नफर्के पनि हिजो आज गुन्डुतिर धाइरहेका देखिन्छन् । जनआस्था

समाचार वर्गहरू