कर्णालीमा आँखा सेवा प्रभावकारी बनाउन साझेदारी

21

काठमाडौं – कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) साझेदारीमा कार्य गर्ने भएका छन् । सो सेवा विस्तारका लागि आइतबार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिवृद्धि गरी एकीकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुबै पक्ष सहमत भएका हुन् ।

कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले आँखा सेवालाई प्राथमिकता दिंदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुको सहयोगमा आाखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकीकृत गरी समुदायमा सेवा पुर्याएको जानकारीे दिए । संघका अध्यक्ष चेतराज पन्तले भने, ‘कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्देश्यले यो सम्झौता गरिएको हो ।’

सम्झौतामा हस्ताक्षर गर्दै नेरेसो महामन्त्री पिताम्बर अर्यालले भने, ‘रेडक्रसको स्वयंसेवकको सञ्जाल र नेत्रज्योति संघको आँखा सेवामा प्राविधिक क्षमताको सवल पक्षहरुलाई मिलाएर कर्णालीका समुदायलाई सेवा गर्ने समझदारीलाई सफल बनाउन स्थानीय स्तरको सहकार्यलाई सुदृढ बनाइने छ ।’

कार्यक्रममा संघका महासचिव भरत बहादुर चन्दले कर्णाली प्रदेशलाई लक्षित गरी दुवै संस्थासंगै काम गर्ने सन्देश आफैमा सुखद रहेको बताए । सुर्खेत आाखा अस्पतालको क्षमता अभिवृद्धि गरी समुदायमा आँखा सेवालाई प्रभावकारी बनाउन र यसमा प्रदेश र स्थानीय सरकार, स्वीस रेडक्रस, सीबीएम इन्टरनेशनलका साथै अरु सरोकारवालासँग पनि सहकार्य बढाउन दुबै संस्था सहमत भएका छन् ।

समाचार वर्गहरू