कांग्रेस छाडेपछि स्वर्णिमसँगको पहिलो भेटमा देउवाले भने – कांग्रेस छोड्न हुँदैनथ्यो

168

काठमाडौं – रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका वाग्ले कांग्रेस परित्यागपछि पहिलोपटक देउवालाई भेट्न पुगेका हुन् ।

कांग्रेस स्रोतका अनुसार पूर्वमन्त्री डा. नारायण खड्काले देउवा–वाग्ले भेटमा समन्वय गरेका थिए । कांग्रेस नेताका अनुसार, गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण अघि नै देउवा– वाग्ले संवाद भएको हो । दुई नेताबीचमा करिब ४५ मिनेट संवाद भएको थियो ।

रास्वपा उपसभापति वाग्लेले कांग्रेस सभापति देउवालाई भेटेको र सौहार्दपूर्ण रुपमा कुराकानी भएको  बताए । अन्य दलका शीर्ष तहका नेताहरूसँग संवाद गर्ने क्रमको निरन्तरतामा देउवासँग भेट भएको जानकारी गराए ।

पार्टी उपसभापतिको हैसियतले देउवासँग संवाद गरेको उनले बताए । ‘कांग्रेसमा पनि विविध मान्छे, समूहहरू सँग केही अंशमा हाम्रो रचनात्मक, सिर्जनात्मक संवाद चलेको छ । सौहार्दपूर्ण ढंगले चलेको छ,’ वाग्लेले भने ।

‘गिरिजाबाबुविरुद्ध मैले पनि त १४ वर्ष संघर्ष गरेकै हुँ भन्नुभयो । तमाम असन्तुष्टिका बाबजुद पार्टीमै रहेको भए हुन्थ्यो, तपाईं जस्तो मान्छे चाहिं कांग्रेस छोड्न हुँदैनथ्यो भनेर भन्नुभयो,’ देउवाको बोली उद्धृत गर्दै वाग्लेले भने ।

देउवाको बोलीमा जवाफ फर्काउँदै वाग्लेले जीवनभर राजनीतिकर्मी हुने आफ्नो अभिलाषा नरहेको बताएका थिए । देउवासँग राखेको आफ्नो बोलीबारे वाग्ले भन्छन्, ‘अब ५–१० वर्ष हो मेरो राजनीतिमा सक्रिय हुने भनेँ । मेरो ऊर्जा, क्षमताले दिन सक्ने यही हो । ५० देखि ६० को यो दशकलाई मैले एकदम महत्त्वपूर्ण मानेको छु । यसलाई मैले सदुपयोग गर्ने निर्णय गरेको उहाँलाई सुनाएँ ।’

समाचार वर्गहरू