कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम दिन आज

52

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अद्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न अपिल गरेका छन्।

पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्।

त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ।

महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरे ।

उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै, प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अद्यावधिक गर्न आग्रह गरे।

नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ।

समाचार वर्गहरू