कांग्रेसको तल्ला तहको अधिवेशन सर्ने निश्चित, महाधिवेशन समयमै हुनेमा शंका

10

काठमाडौं – कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत साउन १२ गतेबाट हुने भनिएको वडा तहको अधिवेशन सर्ने निश्चित भएको छ। सबैभन्दा तल्लो तह ६ हजार सात सय ४३ वडामा एकसाथ अधिवेशन गर्ने तालिका भए पनि त्यसको कुनै तयारी अघि बढेको छैन।

अधिवेशनका लागि न मतदाताको टुंगो लागेको छ, न त निर्वाचनको कुनै तयारी नै अघि बढेको छ।

केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म कसरी निर्वाचन गर्ने भन्ने निर्वाचन निर्देशिकासमेत जारी नगरेको अवस्थामा अधिवशेन सर्ने निश्चित भएको हो। भोलि पदाधिकारी बैठक बसेर त्यसबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले साउन १२ गतेबाट अधिवेशन हुन्न भनेर सबैलाई थाहा भए पनि यथार्थ भन्न डराउनुपर्ने अवस्था रहेको बताएका छन्।

क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा वडाको अधिवेशन नहुने निश्चित भइसकेको भए पनि अधिवेशन हुँदैन भनेर कसैले पनि नभनेको भन्दै नेता सिटौलाले ‘कांग्रेस यथार्थ भन्न डराउने अवस्थामा’ पुगेको टिप्पणी गरेका हुन्।

तल्ला तहको अधिवेशन अनिश्चित हुँदा भदौमा गर्ने भनिएको महाधिवेशन पनि सर्ने सम्भावना बढेको छ।  ‘आज हाम्रो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्यो। बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो। अब पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ। तर, कोही पनि हुँदैन भन्न तयार छैनन्,’ सिटौलाले भने, ‘१२ गते अधिवेशन हुँदैन भन्ने थाहा छ। तर, औपचारिक रूपमा त मैले पनि भन्नुहुन्न। किनभने निर्णय भएको छैन। यथार्थ त हुन्न भन्ने नै हो। तर, यथार्थ भन्न डराउने कांग्रेस भइएको छ।’

सरकार सञ्चालन, कोभिड महामारी, वर्षायाम, बाढीपहिरो, क्रियाशील सदस्यता विवाद र अन्य पूर्वतयारीमा भएको ढिलासुस्तीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको हो। केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकाको मस्यौदा र अन्य पूर्वतयारी टुंगिन नसकेको समाचार आजको नयाँपत्रिकामा प्रकाशित छ ।

समाचार वर्गहरू