काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित मिठाई पसल बागमती स्वीट्स प्रालिको उत्पादन तथा बिक्री वितरणमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले शुक्रबार गरेको बजार अनुगमन क्रममा बागमती स्वीट्समा गम्भीर लापरबाही र अखाद्य वस्तु प्रयोग भएको पाइएपछि यस्तो कडा कदम चालिएको हो ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ प्रावधान बमोजिम उक्त मिठाई पसलमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । अनुगमन क्रममा बागमती स्वीट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको अवस्था अत्यन्तै दयनीय र असुरक्षित पाइएको छ ।
टोलीले गरेको निरीक्षणमा कारखानाभित्रको सरसफाइको स्तर सन्तोषजनक नदेखिएको र किरा तथा शत्रुजीव नियन्त्रणका लागि गरिनुपर्ने ‘पेस्ट कन्ट्रोल’ व्यवस्थापन समेत प्रभावकारी नभएको पाइएको थियो । सबैभन्दा गम्भीर त्रुटि भने मिठाई र ड्राइफ्रुट्स प्याकमा प्रयोग गर्न ठिक्क पारिएको बदाममा भेटिएको थियो ।
भण्डारण गरी राखिएको उक्त बदाममा जिउँदो किराहरू भेटिएपछि अनुगमन टोलीले तत्कालै करिब ५ किलो अखाद्य बदाम जफत गरी नष्ट गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी फोहोर वातावरणमा मिठाई उत्पादन भइरहेको र किरा परेको कच्चापदार्थ प्रयोग गरिएको पुष्टि भएपछि विभागले बागमती स्वीट्सको कारखानाबाट हुने सम्पूर्ण उत्पादन र बिक्री वितरण अर्को आदेश नभएसम्मका लागि तत्कालै रोक्का राख्न निर्देशन दिएको छ ।
साथै, थप सूक्ष्म अनुसन्धानका लागि किरा परेको बदाम र ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । प्रयोगशाला प्रतिवेदनका आधारमा उद्योगमाथि थप कानुनी कारबाही अघि बढाइने विभागले जनाएको छ ।
विभागले उक्त उद्योगलाई आफ्ना सबै कमजोरी तत्काल सुधार गरी त्यसको लिखित प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत आदेश दिएको छ । विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार बजारमा गुणस्तरहीन र अखाद्य वस्तु बिक्री वितरण रोक्न अनुगमन तीव्र बनाइएको छ र जनस्वास्थ्यमाथि खेलबाड गर्ने जोकोही व्यवसायीलाई कानुन बमोजिम कडा कारबाही गरिने छ ।