काठमाडौंमा राति ९ बजेपछि देउसीभैली खेल्न नपाइने

53

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ ।

कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।

‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन’, सूचनामा भनिएको छ ।

चाडपर्वको समयमा सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको उल्लेख गर्दै सूचनामा घर खाली नहुने गरी चनाखो र सतर्क भई आआफ्नो घर रेखदेख गर्न, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा एकाइमा खबर गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने र गराउने कार्य गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रासस

समाचार वर्गहरू