काठमाडौं — विद्युतीय कारोबार मुद्दाका अभियुक्त खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा बुधबार हाजिर भएका सुनारको बयान र थुनछेक बहसपछि न्यायाधीश नगेन्द्र कालाखेतीको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा विद्युतीय कारोबार मुद्दामा सुनार फरार प्रतिवादीका रूपमा रहेकाले मन्त्रीमा सिफारिस भएपछि उनको नाम सार्वजनिक भएको र त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो ।
काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउ अनुमति सहित पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको र त्यसको स्क्रिन सट प्रमाणसहित विद्युतीय कारोबार ऐन अन्तर्गत काभ्रेमै मुद्दा दायर गरेकी थिइन् ।
सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, वाल्मीकि आउजी, नारायण बुढापृथी, गणेश बराइली र रामबहादुर मिजारले बहस गरेका थिए । वादीको तर्फबाट सहन्यायाधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिइन् ।
सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्धालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो ।
अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । उनको मुद्दा जिल्ला अदालतमा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।