काठमाडौं – आफैँले बुझाएको सम्पत्ति विवरणका कारण अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विवादमा मुछिएका छन् । उनले हिमालयन बैंक,सानिमा बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकस्थित खातामा कूल १ करोड ९० लाख नगद रहेको स्वीकार्दै उक्त रकमको स्रोत श्रीमान र श्रीमतीको आय एवम सापटी हो भनेका छन् ।
श्रीमती विदेशी नागरिक हुन् भने वाग्लेले लामो समय विदेशी दातृ संस्थाहरुमा काम गरिसकेका छन् । यसबाट उनको आम्दानी नेपाली रुपैयाँमा भन्दा बढी विदेशी मुद्रामा रहेको स्वत: प्रमाणित हुन्छ । उनले देखाएको घरजग्गाको विवरणमा स्रोत अन्तर्राष्ट्रिय रोजगारी र श्रीमतीको आय जनाएका छन् । विभिन्न कम्पनीमा रहेको करोडौंको सेयरको स्रोत पनि त्यसैलाई देखाएका छन् । तर, डलर एकाउण्ट र सो एकाउण्टमा रहेको विदेशी मुद्राको विवरण भने खुलाएनन् ।
बचतवापत प्राप्त हुने ब्याजभन्दा ऋणको महँगो ब्याज तिर्न को तयार होला ?
३० वर्षअघि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले विदेशको खाता र त्यसमा भएको विदेशी मुद्राको विवरण सार्वजनिक नगरेका कारण राजीनामा दिनुपरेको थियोे । विवरण सार्वजनिक भएपछि बल्ल उनी पुनः मन्त्री नियुक्त हुन सकेको नजिर नेपाली राजनीतिमा छ । तर,वाग्लेले यसवारे केही उल्लेख गर्न चाहेनन् ।
त्यस्तै वाग्लेले आफ्नो खातामा झण्डै २ करोड रुपैयाँ हुँदाहुँदै गत निर्वाचनअघि ३ करोड ५५ लाख बैंकबाट ऋण लिएको देखाएका छन् । त्यसमध्ये १ करोड ५ लाख रुपैयाँ निर्वाचन आचारसंहिता विपरित निर्वाचन आचारसंहिता लागिसकेपछि ग्लोबल आइएमई बैंकबाट ऋण लिएको पनि शंकास्पद देखिन्छ ।
उता,प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो बैंक खातामा अन्य कुनै आम्दानी देखाएनन् । साढे तीन वर्ष काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्राप्त पारिश्रमिकबारे कुनै उल्लेख नगर्नु पनि आशंका बढाउने प्रसङ्ग हो । जबकी उनले सम्पत्तिको नाममा सामाजिक सञ्जालमा रहेका आफ्ना लाखौं फलोअर्सको संख्या टिपोट गरेका छन् ।
प्रचलित कानुनको परिधिभित्र रहेर भर्नुपर्ने सम्पत्ति विवरणमा प्रधानमन्त्री र मन्त्रीहरुले कामचलाउ भाषा प्रयोग गरेको देखिन्छ । अधिकांशले खातामा पचासौं लाख,करोड रुपैयाँ बचत देखाएर अर्कोतर्फ बैंकबाट लिएको ऋण उल्लेख गर्नुले झन ठूलो आशंका बढाएको छ । बचतवापत प्राप्त हुने ब्याजभन्दा ऋणको महँगो ब्याज तिर्न को तयार होला ?
अर्थमन्त्री वाग्लेले बैंकमा रहेको झण्डै २ करोड बचतको स्रोत पनि सापटी देखाएका छन् । उनैले बैंकहरुबाट लिएको ऋण पनि सोही विवरणमा उल्लेख गर्नुले सापटी लिएर बचत गर्दै बैंकको ऋण लिएको देखाएको विवरण कति यथार्थ र व्यवहारिक होला भन्ने शंका जन्माउने नै भयो । जनआस्था बाट