काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको बताए ।
यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, ‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।’
प्रधानमन्त्रीले गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उनले बोली तथा व्यहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताए । संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे ।
उनले भने, ‘सत्ता प्राप्ति र निर्वाचन जित्नका लागि मात्र गठबन्धन बनेको होइन । बृहत्तर उद्देश्यका साथ सङ्घर्षको मैदानमा जन्मिएको गठबन्धन हो, स्थिरता, विकास र समृद्धिबाहेक यसको अर्को उद्देश्य छैन ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरे । उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका कार्यदल संयोजक रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनमा दलबीचमा सिट सङ्ख्या भागबण्डा गर्दा स्वाभाविकरुपमा सबैले टिकट पाउने अवस्था नहुने कुरालाई आत्मसात् गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय कार्यकारी समितिका अध्यक्ष रश्मीराज नेपालीले विभिन्न विमतिका बाबजुद गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक भएकामा जोड दिए ।