गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

120

काठमाडौं – प्रहरीले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई बुधबार पक्राउ गरेको छ ।

प्रभु बैंक लिमिटेडबाट प्रवाह भएको ऋण अपचलनबारे अनुसन्धान गर्न उनलाई ललितपुरको जावलाखेल, भनिमण्डलबाट पक्राउ गरिएको ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

प्रहरीले उच्च अदालत, पाटनबाट उनलाई हिरासतमा राख्न बुधबार नै अनुमतिसमेत लिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शाक्यले बैंकबाट १५ करोड रुपैयाँ ऋण प्रक्रिया नै पूरा नगरी लगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीको दाबीमा, प्रारम्भिक सोधपुछमा शाक्यले समेत ऋणमा गडबडी भएको स्वीकारेका छन् । ‘सीईओसहितका अधिकारीहरुले भनेअनुसार, गरेको भन्ने उहाँको भनाइ छ,’ एक अनुसन्धान अधिकृतले भने ।

प्रहरीले आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यावसायिक भवनलगायतका क्षेत्रमा लगानी गरिरहेको समूहको वेबसाइटमा उल्लेख छ ।

समाचार वर्गहरू