ग्लोबल आइएमई बैंकमा कर्मचारीमाथी भेदभाव : हाकिमको कारण देखाउदै पिताम्बर खड्काद्वारा आत्महत्या

11

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपको अध्यक्ष समेत रहेका विवादीत व्यापारी चन्द्रप्रसाद ढकालको कम्पनीमा गरिएको कर्मचारीमाथीको भेदभावका कारण एक कर्मचारीले आत्महत्या गरेको खबर प्राप्त भएको छ ।

प्राप्त खबर अनुसार झापाको दमकमा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्काले हाकिमका कारण आत्महत्या गरेको सामाजिक सञ्जालमा लेखेको बताइएको छ । झापाको लक्ष्मीमार्ग टोलस्थित आफ्नै घरमा मृत फेला परेका खड्काले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ। घटना अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

मृत्युअघि सामाजिक सञ्जाल फेसबुकमा बैंकका उच्च पदाधिकारीसहित ४ जनाको सामूहिक तस्बिर पोस्ट गर्दै उनीहरूकै कारण आफूले मर्ने निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार ४२ वर्षीय खड्काले फेसबुकमा ‘दिज बास्टर्ड्स किल्ड मी’ (मलाई यिनीहरूले मारेका छन्) भन्दै बैंकका सीईओ सुरेन्द्र रेग्मी, डीसीईओ सुमन पोखरेल, दीपचन्द्र रेग्मी र अनमिका कुँवर सिंहको फोटो सार्वजनिक गरि आत्महत्या गरेको बताइएको छ ।

उक्त पोस्ट सार्वजनिक भएको केही समयपछि नै उनी आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकका बुवा महेश खड्काले छोरालाई सो अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। ​

घटनालगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ। प्रारम्भिक सोधपुछका क्रममा मृतक खड्का यसअघि बैंकको आन्तरिक कारबाहीमा परेको खुलेको छ।

इलाका प्रहरी कार्यालय दमकमा मृतकको परिवारले बैंकका जिम्मेवार पदाधिकारीविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन्।घटनाको निष्पक्ष अनुसन्धानका लागि मृतक खड्काको मोबाइल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। मोबाइलको पासवर्ड खोल्ने र प्राविधिक विश्लेषण गर्ने काम भइरहेको छ।

समाचार वर्गहरू