जेनजी आन्दोलनपछिको तिहारमा पटका आतङ्क, जताततै विस्फोटको आवाज

68

काठमाडौं – तिहारको उज्यालो र रंगीन दीपमालाबीच सोमबार (लक्ष्मी पूजा)को राति सहरहरु देउसी भैलो आवाजभन्दा पटकाका ठुल्ठूला आवाजले आक्रान्त भए।

राजधानी काठमाडौंसहित मुलुकका विभिन्न सहर र ग्रामीण क्षेत्रमा समेत जताततै विस्फोटको आवाज सुनिएको हो।

लक्ष्मी पूजाको अवसरमा घर–घरका आँगनमा दियो र बत्ती बालिँदै गर्दा गल्ली, छत र सडकभरि धमाधम पड्काइएका एवं पड्किएका पटकाले वातावरण तातो र असहज बनाएको थियो। वातावरणीय चेतना र कानुनी निषेधका अनेक प्रयास हुँदाहुँदै पनि यसवर्ष तिहारको लक्ष्मी पूजाको रात पटकाले नै कब्जा गरेका थिए।

यसवर्षको पटका विस्फोट सामान्य पर्वको उत्साह मात्र नभएर राजनीतिक अशान्तिसँग पनि गाँसिएको देखिन्छ। सुरक्षा अधिकारीहरूका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केही समय नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थित कमजोर भएको मौकामा भारतबाट ठूलो परिमाणमा पटाका भित्रिए।

जेनजी आन्दोलनपछिका केही दिन सीमा क्षेत्रमा सुरक्षाकर्मी चेकजाँच र कडाइ प्रभावकारी हुन नसक्दा तस्करको समूहले सहजै पटका भित्राउने अवसर पाएको सुरक्षा विश्लेषण छ।

वातावरणविद् रामचन्द्र अधिकारीका अनुसार पटकामा एलुमिनियम नाइट्रेट, सुल्फर डाइअक्साइड, लिड र बारुदजस्ता धातुयुक्त रसायन मिसाइएका हुन्छन् र त्यसले वातावरणमा औद्योगिक प्रदूषणभन्दा बढी असर गर्छ। ‘पटकाको धुवाँ सासमार्फत शरीरमा पस्छ। दम, एलर्जी र श्वासप्रश्वासजस्ता रोग बढाउँछ। दीर्घकालीन असर क्यान्सरसमेत हुनसक्छ। यसले मानव स्वास्थ्यदेखि वातावरण र जीवजन्तुलाई पनि ठूलो असर पुर्‍याउँछ,’ उनले भने।

पटकाको ओसारपसार र प्रयोग गैरकानुनी हो। तर, कानुनविपरीत अवैध रूपमा भित्राइएका पटका अहिले जताततै पड्किरहेका छन्। तिहारको झिलिमिलीमा नेपालका सहरहरू उज्यालोभन्दा बढी विस्फोटको आवाजले गुञ्जिएका छन्।

समाचार वर्गहरू