टिपरको बालुवाभित्र १० क्विन्टल गाँजा लुकाउने पक्राउ

2

काठमाडौं – बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकबाट उक्त गाँजा बरामद गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार ६ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा र पक्राउ परेका सवारी चालक धनकुट्टाको सहिदभुमी गाउँपालिका–४ बस्ने ३२ वर्षीय विशेष राईलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय कल्याणपूरको संयुक्त टोलीले को १ ख ५८३१ नम्बरको टिपरलाई रोकेर चेकजाँच गर्दा बालुवाभित्र लुकाएर लैजाँदै गरेको १० क्विन्टल ६ किलो गाँजा फेला पारेको हो।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा टिपरको बालुवा निकाली हेर्दा २८ वटा बोराभित्र प्याक गरिएको तयारी अवस्थाको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्दी ब्रजाचार्यले बताए।

गाँजाको बोरा फेला परेपछि चालक राईलाई पक्राउ गरिएको र कारबाही थालिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक सुभेश अधिकारीले बताए। राईको साथबाट नगद एक लाख रुपैयाँ र दुई थान मोबाइल समेत फेला परेको छ।

पक्राउ परेका चालक राईले गाँजा आफ्नै भएको र आफैंले ओसारपसारको व्यवसाय गर्ने गरेको स्वीकारेका छन्। उनले गाँजा भारततर्फ लैजान लागेको बताए। भारत निकासीका लागि गाँजा तस्करहरूले सप्तरीको बाटो प्रयोग गरिरहे पनि नौ महिनायता तस्करी गर्नेहरू कोही पक्राउ परेका थिएनन्। सप्तरीमा कारोबार भइरहे पनि यो अवधिमा थोरै मात्रामा गोजीमा बोकी हिँड्ने अम्मली मात्र पक्राउ परिरहेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू