तत्कालीन प्रधानमन्त्री ओलीको व्यवसायी दीपक भट्टलाई उन्मुक्ति, पुन: छानबिनका लागि जेन–जीको उजुरी

73

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी ओलीले विवादास्पद व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा उन्मुक्ति दिएको खुलेको छ ।

भट्टको करोडौँको शंकास्पद बैंकिङ कारोबार भेटिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । त्यतिखेर विभाग प्रधानमन्त्री कार्यालयकै मातहत थियो । तर, ओलीको दबाबपछि राष्ट्र बैंकबाटै कारबाही गर्नुपर्ने पत्र लेखेर भट्टलाई जोगाइएको हो । हाल जेन–जी अगुवाले भट्टको सम्पत्ति छानबिन गरी कारबाहीको माग गर्दै फेरि उजुरी दिएका छन् ।

नयाँ पत्रिकाले विभागबाट प्राप्त गरेको पत्रअनुसार ३० वैशाख ०८२ मा भट्टमाथि राष्ट्र बैंकबाटै कारबाही हुनुपर्ने देखिएको भन्दै अनुसन्धानको फाइल बन्द गरिएको थियो । उनीविरुद्ध अकाट्य प्रमाण भेटिए पनि विभागले ‘सम्बन्धित नियमनकारी निकायबाटै सोतर्फ कारबाही हुनुपर्ने देखियो’ भन्ने व्यहोराको पत्र लेखेर छानबिन टुंग्याएको थियो । त्यसयता राष्ट्र बैंक तथा कुनै पनि निकायले भट्टमाथि अनुसन्धान अघि बढाउन सकेका छैनन् । जबकि सम्पत्ति शुद्धीकरणको पत्रमा बैंकिङ कसुर मुद्दासमेत आकर्षित हुने उल्लेख छ । तर, राष्ट्र बैंकले यस विषयमा कारबाहीका लागि हालसम्म प्रहरीलाई पत्राचारसम्म गरेको छैन ।दबाबकै कारण राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन तथा कारबाही प्रभावित हुँदै आएको हो । जबकि भट्ट र परिवारको खातामा पनि अस्वाभाविक र स्रोत नखुलेको कारोबार राष्ट्र बैंककै प्रारम्भिक छानबिनमा खुलेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर विगतमा दीपक भट्टसँग सम्बन्धित उजुरी तामेलीमा राखिएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् । नयाँ उजुरीउपर अन्य निकायसँग मिलेर अनुसन्धान हुने उनको जवाफ छ ।

‘उजुरीमा के छ हेर्न पाएको छैन,’ उनले भने,‘यसमा सम्बद्ध कसुर जहाँ देखिन्छ, त्यही निकायबाट अनुसन्धान हुन्छ । दुई वा दुईभन्दा धेरै कसुर देखिएमा आवश्यकताअनुसार संयुक्त अनुसन्धान टोली बनाएर पनि छानबिन गर्न सकिन्छ ।’

व्यवसायी भट्टको सम्पत्ति शुद्धीकरणको फाइल बन्द हुँदा विभागको महानिर्देशक सुमन दाहाल थिए । निवर्तमान प्रधानमन्त्री ओलीले दाहाललाई बोलाएर अनुसन्धान तत्काल टुंगाएर ‘क्लिन चिट’ दिन दबाब दिएको स्रोत बताउँछ । लगत्तै विभागले राष्ट्र बैंकलाई पत्र लेखेर त्यतैबाट कारबाही गर्न भनेको थियो । भट्ट ओलीका निकटस्थ व्यक्ति हुन् । एमाले–कांग्रेसको गठबन्धन गरेर ओलीको नेतृत्वमा सरकार बनाउन भट्टले नै मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।

भट्टले बैंकको ऋण दुरुपयोगदेखि नक्कली वित्तीय कारोबारको नक्कली कागजात बनाएको छानबिनमा खुलेको थियो ।गलत लिखत तयार गरी वित्तीय विवरण तयार गरेको तथा उनका परिवारका व्यक्तिको नाममा देखिएको अस्वाभाविका कारोबारको विषयमा पनि राष्ट्र बैंकबाटै कारबाही हुनुपर्ने भनेर विभाग पन्छिएको छ । उनकी सासू अञ्जना नेपालको नाममा दर्ता गरिएको एलियन्ट ब्रोकरेज कम्पनीमा हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ जम्मा गरिएको विषयमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन नै नगरी फाइल बन्द गरेको छ । अवैध सम्पत्ति शुद्धीकरणकै लागि उनले आफन्तका नाममा विभिन्न कम्पनी दर्ता गरेर तह तह बनाई आफ्नो खातामा पैसा ल्याएको विभागको छानबिनबाट प्रस्ट हुँदा दबाबकै भरमा मुद्दाबाट भने उन्मुक्ति दिइएको छ ।

ओलीले आफ्नै कार्यकालमा सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालयमातहत तानेका थिए । जेन–जी आन्दोलनपछि बनेको सरकारले विभागलाई हाल सम्बन्धित मन्त्रालयकै अधिकार क्षेत्रमा फिर्ता गरिसकेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘ठुला व्यक्ति जोडिएका फाइलहरू यसैगरी बन्द हुन्छन्, सोही कारण देश ग्रेलिस्टमा परेको हो ।’ सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा पर्याप्त नीति तथा कानुन निर्माण र त्यसको कार्यान्वयन नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले गत वर्ष फागुनमा नेपाललाई ग्रे लिस्टमा राखेको थियो ।

भट्टले भने आफूलाई जेन जीले चिन्दै नचिनेको भन्दै कानूनबमोजिम छानविन गर्न चुनौति दिएका छन् । आफूले उद्यम गरेर पैसा कमाएको उनको दाबी छ । ‘मविरुद्ध उजुरी परेको भए कानूनबमोजिम छानबिन गर्दा भयो । मेरो किरअरको २० वर्षमा यो देशमा कयौं काण्ड भए, तर म कहिँ मुछिएको छैन, मैले एउटा पनि अनैतिक काम गरेको छैन । मेरो गल्ती भनेको सबैसँग सम्बन्ध विस्तार गरेँ, उद्यम गरेँ, हजरौंलाई रोजगारी दिएँ । के उद्यम गर्नु, सम्बन्ध विस्तार गर्नु, रोजगारी दिनु, पैसा कमाउनु गलत हो ? यदि उद्यम व्यवसाय गरेर पैसा कमाउनु र राज्यलाई कर तिर्नु अपराध हो भने मैले धेरै अपराध गरेको छु । तर, उद्यम गर्नेलाई आईडल मान्ने कि सिध्याउने ?’ उनले भने,  ‘कहिले प्रिपेड व्यापारी भनेको छ, कहिले विचौलिया भनेको छ, एउटा उद्यमीको यति धेरै इस्र्या किन ? उद्यमीलाई खेद्ने किन ? म दावीका साथ भन्न चाहन्छु कि जेन जी भाइ–बहिनीहरूलाई दिपक भट्ट को हो भन्ने नै थाहा छैन । म उद्यमी हुँ कि कर्मचारी हुँ भन्ने जेन जीलाई थाहा छैन । खाली हल्ला र आरोपका पछि लागेर कसैलाई लखेट्नु हुँदैन । यो देशमा नियम कानून छन्, त्यो सबैको हकमा लागू हुनुपर्छ ।’ नयाँपत्रिका

समाचार वर्गहरू