तीन ठूला दलको सन्देश- लोकतान्त्रिक विधिबाट निकास खोजियोस

63

काठमाडौं – जेनजी आन्दोलनले उथलपुथल ल्याएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि अहिले देश नेतृत्वविहीन छ । ओली सरकार ढलेपछि अन्तरिम सरकार कसको नेतृत्वमा बनाउने भन्ने अझै निष्कर्षमा थप अन्योलता बढेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्नुपर्ने र त्यसका लागि संसद विघटन अनिवार्य गर्नुपर्ने अडान सार्वजनिक गरेका छन् ।

यद्यपि, कार्कीको नाममा पनि अहिलेसम्म जेनजीभित्रै सहमति बन्न सकेको छैन। जेनजीलाई प्रतिनिधिसहित सेनाले आज वार्ताको लागि बोलाएको भएपनि अझै टुंगिएको छैन। जेनजीभित्र मतभेद बढ्दै गएपछि ठूला राजनीतिक दलहरुले संवैधानिक व्यवस्थाभित्रबाटै निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा बताएका छन्।

पार्टी सचिवालयको धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘युवा पुस्ताका माग सम्बोधन गर्न सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको छ । साथै संसद, न्यायपालिका, प्रदेश र स्थानीय तहले लोकतन्त्रको रक्षा र सेवाप्रवाहमा सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गरिएको छ ।’

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गरेका छन्। सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्नुपर्ने उनीहरुको निष्कर्ष छ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘हामी यो पहललाई जेन जी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं ।’

‘अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ’, विज्ञप्तिमा भनिएको छ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिलाई अपील गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ। यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन्।’

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका छन्। राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’

समाचार वर्गहरू