त्रिविका रेक्टर र डिनको कार्यकक्षमा तोडफोड

124

काठमाडौं — त्रिभुवन विश्वविद्यालयका रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार एक समूहले तोडफोड गरेका छन् ।

एउटै विद्यार्थीको समूहले कीर्तिपुरस्थित रेक्टर खड्ग केसी र डिन शंकर खनालको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताए ।

केसी र खनाल कार्यकक्षमा नपुग्दै तोडफोड भएको हो । कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज, सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएका छन् ।

विद्यार्थीले कुनै पनि माग नराखेको र पछिल्लो समय कुनै विषयमा बिवाद पनि रहेको उनले जनाए । तर प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउदसहित सिकेन्द्र रोकायलगायतका विद्यार्थीले रेक्टर, डिन कार्यकक्षमा तोडफोड गरेर क्षति पुर्‍याएको बताएका छन् ।

कर्मचारीहरुले भने दुवै कार्यालयमा ५/७ जनाको समूहमा आएका विद्यार्थीले तोडफोड गरेको र सबैको पहिचान गर्न नसकेको बताए । रोकायको संयोजकत्वमा त्रिवि संघर्ष समिति गठन गरेर विद्यार्थीले विभिन्न माग राख्दै आएका थिए । उक्त समितिमा नेविसंघबाट स्ववियुमा प्रतिनिधित्व गर्ने साउद पनि संलग्न रहेको विद्यार्थीको भनाइ छ ।

नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिए पनि त्रिवि नेविसंघ समितिले भने रेक्टर कार्यालयमा भएको तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको दाबी गरेको छ ।

सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै नेविसंघको आधिकारिक निर्णय वा निर्देशनअनुसार तोडफोड नभएको जनाएका छन् । ‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोडजस्ता असभ्य क्रियाकलाप नेविसंघको आर्दश र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन । भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’

समाचार वर्गहरू