काठमाडौं – पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको शव खोजीका लागि आएको भारतीय उद्धार टोलीले काम थालेको छ।
शनिबार बिहान चितवन आइपुगेको टोलीलाई चितवन जिल्ला प्रशासनले घटनाबारे जानकारी गराएको थियो। घटनाविवरण सुनेपछि उद्धार टोली तत्काल खोजी कार्यमा खटिएको हो।
भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ)का १२ जना प्राविधिक टोली प्रविधिसहित परिचालित भएको छ। टोलीमा चारजना गोताखोर छन् । त्यसैगरी, तीनवटा सोनार क्यामेरा छन्। भारतीय टोली सात दिनसम्म खोजीमा खट्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यदवले जानकारी दिए। तर, सरकारले चाहे उद्धार तथा खोजीका लागि समय थपिन सक्ने पनि उनले बताए।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए। बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए।
अहिलेसम्म २५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। ३७ जनाको अवस्था अझै अज्ञात छ। त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन।