काठमाडौं – संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन भएको छ । हाल दक्षिण सुडानमा तैनाथ तारादल गण छैटौं डफ्फाको टोलीलाई बदली गर्न आज गोरख बहादुर गण सातौं डफ्फाको टोली त्यहाँ पुगेको हो ।
२ सय १३ जनाको सो टोलीको नेतृत्व प्रमुख सेनानी सुशील प्याकुरेलले गरेका छन् । सोही उडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २ सय ११ जनाको टोली त्यहाँबाट फिर्ता भएको छ । सो टोली भोली बिहान काठमाडौं आइपुग्ने छ ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।