काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
एमालेले दायर गरेको रिटमा बुधवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासबाट साउन तीनभित्र सरकार गठनको प्रक्रियाका सक्कल कागजपत्र माग्दै दीर्घकालीन प्रभाव पर्ने कुनै निर्णय नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।
आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नु, नगराउनू भनि प्रत्यर्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’
कोशीमा सभामुख बाबुराम गौतमको समेत समर्थनबाट काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएपछि कानुनी विवाद सुरु भएको थियो। सभामुखलाई सरकार बनाउने प्रक्रियामा गणना गर्न नमिल्ने भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो।