दुई महिनाभित्र नयाँ संविधान, हिन्दू राष्ट्र र कार्यकारी प्रधानमन्त्री – जेनजी

88

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वार्ताका लागि बोलाएपछि जेनजी युवाहरू आन्तरिक छलफलमा जुटेका छन्। उनीहरू भर्चुअल माध्यमबाट छलफलमा जुटेका हुन्।

उनीहरूसंसद विघटन, नयाँ प्रधानमन्त्रीको नियुक्ति, शासकीय व्यवस्थालगायतका विषयमा छलफल गरिरहेका छन्।

संसद विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशिला कार्की वा काठमाडौँका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीले प्रस्ताव गरेका छन्।

त्यस्तै सोमबार प्रदर्शनका क्रममा गोली हान्ने आदेश दिने तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई तुरून्त पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

जेनजीलाई समेट्ने गरी ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्नुपर्ने प्रस्ताव उनीहरूले गरेका छन्।

पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने तथा भ्रष्टाचार काण्डहरूको स्वतन्त्र र न्यायिक छानबिन गरी कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

जेनजीको सदस्यहरूले हिन्दू राष्ट्र र प्रत्यक्ष कार्यकारी प्रमुखसहितको व्यवस्था हुने गरी दुई महिनाभित्र नयाँ संविधान जारी गर्ने प्रस्ताव अगाडि सारेका छन्।

त्यस्तै सांसदहरू मन्त्री बन्न नपाउने र प्रदेश संरचना पूर्णरूपमा खारेज गरी स्थानीय र संघमात्र राख्नुपर्ने उनीहरूको भनाइ छ।

दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरी अख्तियार, अदालतलगायतका संवैधानिक निकायहरूमा दलगत भागबण्डाका आधारमा भएका नियुक्ति तत्काल खारेज गरी योग्यताका आधारमा नियुक्ति गर्नुपर्ने प्रस्ताव उनीहरूले सारेका छन्।

समाचार वर्गहरू