देउवा, प्रचण्ड र खड्काको घरको खरानीमा ठूलो परिमाणमापैसाको अवशेष भेटियो

77

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा, उहाँकी पत्नी आरजु राणा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता दीपक खड्काको जलेको घरको थुप्रोमा ठूलो परिमाणको पैसाको खरानीसहितको अवशेष भेटिए पनि सो थुप्रोमा के कति पैसा थियो भन्नेमा निक्र्यौल निकाल्न कठिन भएको जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा उहाँहरूको घर जलेर ध्वस्त भएको थियो । त्यतिखेर प्रचण्ड, देउवा र खड्काको घरमा पैसाका चाङ रहेको र ती पैसाहरू जलेका दृश्यहरू सार्वजनिक भएका थिए । त्यसलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, प्रचण्ड र खड्काको जलेको घरमा रहेको खरानीका थुप्राहरूको मुचुल्कासहित बरामद गरेर अनुसन्धान थालेको थियो । विभागले अनुसन्धानका क्रममा उनीहरूको घरको खरानीमा पैसा भए नभएको पुष्टि गराउन आवश्यक जाँचका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फरेन्सिक ल्याबमा पठाएको थियो ।

विभाग स्रोतका अनुसार सो फरेन्सिक ल्याबको रिपोर्टले खरानीमा प्रशस्त मात्रामा पैसाको अवशेष रहेको पुष्टि गरेको छ । तर पैसा सबै जलेकाले के कति पैसा थियो भन्ने बारेमा निक्र्यौल गर्न भने कठिन भएको त्यससम्बन्धी अनुसन्धान गरिरहेका संयुक्त अनुसन्धान टोलीका एक अधिकृतले नेपाल समाचारपत्रसँग बताए । शीर्ष नेताको घरमा जलेका पैसा सम्बन्धमा विभागको नेतृत्वमा राष्ट्र बैंक तथा सीआईबीका प्रतिनिधिसमेत रहेको संयुक्त अनुसन्धान टोलीले गहन र विस्तृत अनुसन्धान गरिरहेको छ ।

‘फरेन्सिक ल्याबको प्रतिवेदनका आधारमा देउवा, प्रचण्ड र खड्काको घरमा उल्लेख्य पैसा रहेको हुन सक्ने अनुमान गर्न सकिने आधार देखिए पनि पैसा ठ्याक्कै यति नै थियो भनेर भन्न सकिने अवस्था रहेन, त्यसैले अनुसन्धान प्रक्रिया सकसपूर्ण हुनसक्छ’ –अनुसन्धान टोलीका ती अधिकृतले भने । उनका अनुसार आगलागीमा पैसाहरू जलेर ध्वस्त भएकाले पैसाको परिमाण निकाल्न कठिन देखिएको हो ।

यद्यपि, धेरै पैसा रहेको पाइएकाले थप प्रमाणहरू जुटाएर उहाँहरूसँग बयान लिनुपर्ने र बयानका क्रममा केही खुल्न सक्ने आशा अनुसन्धान अधिकृतहरूको छ । फरेन्सिक ल्याबको रिपोर्टका बारेमा जानकारी गराउँदै उहाँहरूसँग बयान लिँदा पैसाका बारेमा विस्तृत जानकारी आउन सक्ने सम्भावनाका बारेमा अनुसन्धान अधिकृतहरूले छलफल गरिरहेको विभाग स्रोतले जनाएको छ ।

यद्यपि, थप प्रमाणहरू संकलन गर्न केही समय लाग्न सक्ने भएकाले उहाँहरूसँग बयान लिन पनि केही ढिलाइ हुने र अन्तिम चरणमा मात्रै बयान लिइने विभागका एक अधिकारीले बताए । ‘फरेन्सिक ल्याबको रिपोर्टले त खरानीको थुप्रोमा पैसा रहेको तथ्य औंल्याएको छ तर के कति पैसा थियो भन्ने बारेमा यकिन गर्न सक्ने अवस्था छैन, उहाँहरूसँग बयान लिँदा पनि उहाँहरूबाट यति नै रकम थियो भन्ने विषय खुल्न कठिन छ, त्यसैले पैसाको टुंगो लगाउन सकसपूर्ण छ’ –विभागका ती अधिकारीले भने ।

बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपियाँ (हजार÷पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएपछि विभागले मुचुल्का गरेको थियो । जेन–जी घटनापछि देउवाका घरमा गएका केही व्यक्तिहरूले देउवाको घरमा पैसा राख्ने ट्यांकी नै रहेको बताएका थिए । यद्यपि, देउवाको सचिवालयले झुट भएको र एआईमार्फत नक्कली पैसा देखाएर बेइज्जत गर्न खोजिएको भन्दै खण्डन गरेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालको घरमा पनि पैसा राख्न प्रयोग गरिएका सेफहरू फुटाइएको र एउटा कोठमा चाङका चाङ रहेको पैसा खरानी भएको भन्दै भिडियोहरू सार्वजनिक भएको थियो । यद्यपि, दाहालको सचिवालयले पनि सो भिडियो नक्कली रहेको भन्दै खण्डन गरेको थियो । यसै गरी पूर्वमन्त्री खड्काको घरमा प्रदर्शनकारीहरूले जलाउने क्रममा पैसा आकाशमा उडाएका दृश्यहरू सार्वजनिक भएका थिए ।

जेन–जीको आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकार बनेलगत्तै नेताहरूको घरमा भेटिएको पैसाको बारेमा अनुसन्धान गर्न चौतर्फी माग बढेसँगै अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत नेताहरूको घरको सो पैसाका बारेमा छानबिन थालेको थियो । त्यसपछि विभागले सामाजिक सञ्जालमा आएका फोटा, भिडियोलगायतलाई पनि फरेन्सिक परीक्षणका लागि पठाएको थियो । प्रधानमन्त्री कार्कीले यस प्रकरणमा गम्भीरतापूर्वक छानबिन गरी निष्कर्षमा पुग्न अर्थ मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिँदै आएको बताइएको छ । नेपाल समाचारपत्र

समाचार वर्गहरू