देउवाको घरको शंख र गगनको घरको फ्रिज चोर्ने पक्राउ

72
फाइल फोटो

काठमाडौं – गत २३ र २४ गतेको जेनजी आन्दोलनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरबाट शंख र मूर्ति चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनका विजय लामा चोरिएको शंख, बुद्ध र गणेशको मूर्तिलगायत सहित पक्राउ परेका हुन् । उनले चोरी गरेको नभई सडकमा भेट्टाएर ल्याएको दाबी गरेका छन् । बुढानीलकण्ठ पुगेका प्रदर्शनकारीले देउवा दम्पतीलाई कुटपिटसमेत गरेका थिए । पछि सेनाले उद्धार गरेर उनीहरूलाई सैनिक अस्पताल छाउनी पुर्‍याएको थियो ।

प्रहरी वृत्त गौशालाले कांग्रेस महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको छ । उनको साथबाट फ्रिज र उफरसमेत बरामद भएको छ । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा लुटपाटमा संलग्न भएको आरोपमा १८ वर्षीय सरोज आलम पक्राउ परेका छन् ।

ललितपुर–११ मा रहेको शाक्यको घरमा लुटपाट गरेको आरोपमा पक्राउ परेका उनी अहिले पुर्पक्षका लागि नख्खु कारागारको थुनामा छन् । सोही प्रकरणमा पक्राउ परेका फुर्साङ लामा, २२ वर्षीय सहजाद मियाँ मन्सुरी र २९ वर्षीय मनीष सुनार धरौटीमा छुटेका छन् । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा भएको लुटपाटमा संलग्न आरोपमा उदयपुर घर भएका २९ वर्षीय सुजन सेवा र महोत्तरी स्थायी घर भएका ३० वर्षीय सञ्जय परियार पक्राउ परेका छन् । ‘उनीहरूलाई अदालतमा उपस्थित गराइकोमा धरौटीमा छाड्ने आदेश भएको छ,’ ललितपुर प्रहरीका एक अधिकृतले भने ।

यसैगरी आन्दोलनका क्रममा गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्नेको कोठामा समेत चोरी भएको पाइएको छ । रेस्ता तामाङसहित ३ जनाले आन्दोलनका क्रममा कोठामा प्रवेश गरेर आईफोन ११ सहित औंठी, सिक्री, नगद ८५ हजार रुपैयाँ, घडी, ज्याकेट, हेडफोन, चप्पल र माक्ससमेत चोरेको भन्दै पीडित स्मृति लामाले जाहेरी दिएकी छन् । रेस्ताले सीसीटीभीमा देखिएको व्यक्ति आफू भएको स्विकारेकी छन् । तर, चोरीमा संलग्न नभएको उनको दाबी छ । प्रहरीमा दिएको बयानअनुसार, रेस्ताका श्रीमान् प्रेम तामाङको तीन वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि चार वर्षका छोरालाई लिएर उनी अर्काको घरमा बसेर कपडा धुने काम गर्दै आएकी थिइन् । इकान्तिपुर

समाचार वर्गहरू