निर्माण आयोजनाको मूल्यवृद्धि अनुसार मूल्य समायोजन गर्नुको विकल्प छैन : बागमती प्रदेश निर्माण व्यवसायी महासंघ

7

हेटौँडा । निर्माण सामाग्रीहरुको अप्रत्याशित एवं अत्याधिक मूल्यवृद्धि र बजारमा ती सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्पसँगै धराशायी हुने अवस्थामा पुगेको भन्दै बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घले मूल्य समायोजनको माग गरेको छ । महासङ्घले निर्माण आयोजनामा भएको मूल्यवृद्धिअनुसार मूल्य समायोजन गर्न माग गरेको महासङ्घका बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले बताएका छन ।

आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिको समस्याबाट पीडित निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन सरकारसँग माग गरेको उनले बताएका छन् । महासङ्घका अध्यक्ष तामाङले इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिलाई पूर्वाधार क्षेत्रमा आएको ’सुनामी’ को संज्ञा दिँदै निर्माण सामग्रीहरूको अभावका कारण निर्माण उद्योग ठप्प हुने स्थिति रहेकाले ‘म्याद थप’ अपरिहार्य भएको उनले बताएका छन् ।

मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति ध्यानाकर्षण गराउँदै उहाँले इन्धनजन्य सामाग्रीहरूसहित निर्माण सामाग्रीहरु बिटुमिन, सिमेण्ट, डण्डीलगायतका निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्याधिक मूल्यवृद्धि र बजारमा ती सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको उनले बताए ।

भौतिक पूर्वाधार क्षेत्रमा आएको ’सुनामी’ का कारण मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु भइसकेको छ उनले भने,‘निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिलेसम्म कार्यान्वयन भएको छैन ।’

उनले समस्या समाधानका लागि ठोस पहल नगरी नेपाल सरकारले करीब दुई महिनादेखि लगातार मौखिक आश्वासन मात्र दिएका कारण पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू र सो मा आबद्ध लाखौं श्रमिकहरू तथा यसक्षेत्रसँग सम्बन्धित अन्य उद्योगहरु आर्थिक रुपमा धराशायी भएको बताए ।

उनले प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप निर्देशिका –२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन सरकारसँग माग गरेका छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार बुढाथोकीले निर्माण कार्य तीव्र रुपमा हुने अहिलेकै समयमै इन्धन सामग्रीहरूसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई लामो समयसम्म ठूलो आर्थिक भार परी निर्माणाधीन आयोजनाहरूको भविष्यमै गम्भीर प्रश्न खडा भइसकेको बताएका छन् ।

उनले इन्धन सामग्रीहरूमा भएको निरन्तरको मूल्यवृद्धि तथा निर्माण सामग्रीहरूको अभावमा राष्ट्रिय गौरवका आयोजनाहरू सहित मुलुकभरका अन्य साना ठूला सबै आयोजनाहरूको काम लगभग ठप्प भएको बताएका छन् ।

महासङ्घलेअहिलेको गम्भीर परिस्थितिका कारण निर्माण आयोजनाहरू पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैङ्क ग्यारेण्टी, इन्सुरेन्स तथा थप क्षतिपूर्तिसहित सबै आयोजनाहरूको म्याद थपका लागि नेपाल सरकारलगायतका पक्षहरूलाई आग्रह गरेको छ ।

समाचार वर्गहरू