नेपालगञ्जमा आज देखि २५ गतेसम्म कर्फ्यू

27

(बाँके) – कोरोना भाइरसको संक्रमित बढ्सँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

कर्फ्युका समयमा औषध बाहेकका पसलहरु बन्द गर्ने निर्णय समेत गरेको बैठकले गरेको छ । बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्ति बाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाही समेत गर्ने निर्णय भएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । नेपालगञ्जमा गत शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काले बताए ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा बैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो ।

समाचार वर्गहरू