पुरुष फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दै

12

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलदकुद प्रतियोगिता साग अन्तर्गतको पुरुष फुटबलमा शनिबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।

खेल दिउँसो साँढे एक बजे सुरु हुनेछ । यस अघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत बुधबार भएको खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको थियो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउँन नसक्दा नेपालले बराबरी खेलेको हो । खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा नेपाल गोल खान पुग्यो । यो बराबरीसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । अब नेपालले माल्दिभ्ससँग शनिबार र बंगलादेशसँग आइतबार खेल्नेछ ।

यस्तै, साग अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले भुटान विरुद्ध शानदार जित हात परेको थियो । गत मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, शनिबार नै हुने अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे पछि हुनेछ ।

समाचार वर्गहरू