बुटवल – प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र तोकिएको छ । प्रदेशसभा मंगलबारको बैठकबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।
प्रदेशको नाम र राजधानी सम्बन्धमा सरकारले ल्याएको प्रस्तावमा मंगलबार प्रदेश सभा सदस्यहरुबीच मतदान भएको मतदानमा लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले भाग लिएका थिए । त्यसमध्ये ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरे । नामकरण सम्बन्धमा कांग्रेस र नेकपाले पक्षमा मतदान गरेका हुन् । जनता समाजवादी पार्टीका ४ जनाले विपक्षमा मतदान गरे ।
प्रदेश सभाका ८७ सदस्यमध्ये मंगलबार ८६ जना उपस्थित थिए । सभामुखले मतदान गर्न नपाइने नियम छ । कांग्रेस सदस्य सुरेन्द्र हमाल अनुपस्थित थिए । जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डे र सदस्य कल्पना पाण्डेले पनि मतदान बहिस्कार गरे । प्रदेश राजधानी दाङ लैजानेबारे राष्ट्रिय जनमोर्चाका तारा जीसीले पनि मतदान बहिष्कार गरिन् ।
राजधानी तोक्ने सम्बन्धमा १९ सदस्य रहेको कांग्रेस तितरबितर भयो । लुम्बिनी क्षेत्रका १३ सदस्यले राजधानी दाङ लैजाने विपक्षमा मतदान गरे । दाङ, बाँके र बर्दियाका सदस्य डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी र मोहमद याकुम अन्सारी गरी ५ जनाले पार्टी ह्वीपविपरीत पक्षमा मतदान गरे । जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव, सदस्य पुर्मती ढेंगामगर, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले राजधानी दाङ लैजाने पक्षमा मतदान गरे ।
प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।