प्रधानमन्त्रीसँग निर्वाचन आयोगले भन्यो – ‘फागुन २१ मा चुनाव सम्भव छ’

81

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा बुधबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्।

प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसमेतसँग छलफल गरेकी हुन्।

आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी गराएको छ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुनेक्रम पनि उत्साहजनक रहेको बताउँदै भण्डारीले तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव रहेको र यसका लागि सक्षम आयोगले आफ्नोे अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको बताए।

यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए।

आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ। यसका लागि बुधबार रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ।

निर्वाचनका लागि हालसम्म २२ वटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिएका छन्। यस्तै निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको र अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको आयोगले जनाएको छ।

समाचार वर्गहरू