फागुन २१ मा हुने निर्वाचन कार्यतालिका पारित

116

काठमाडौं – निर्वाचन आयोगको सोमबार बसेको पदाधिकारी बैठकले निर्वाचन कार्यक्रम सम्बन्धी कार्यतालिका पारित गरेको छ ।

निर्वाचन आयोगले नयाँ सरकार गठन भएलगत्तै ९ असोजमा मतदाता नामावली संकलनका लागि ३० कात्तिकसम्म १६ वर्ष उमेर पुगेका नागरिकहरुलाई मतदाता नामावली संकलनको लागि खुलाएको थियो ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुराना दलहरु निर्वाचनमा जान अझै पनि अलमलमै रहेको अवस्थामा निर्वाचन आयोगले कार्यतालिका पारित गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताका लागि तोकिएको छ । पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघमदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने कार्यतालिकामा उल्लेख छ ।

त्यसैगरी ३ फागुनदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने आयोगको कार्यतालिकमा उल्लेख छ । २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको कार्यतालिकामा उल्लेख छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेस गर्ने कार्यतालिका छ ।

निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

समाचार वर्गहरू