काठमाडौं । प्रतियोगितामध्येको महत्वपूर्ण खेल फिफा विश्वकप फुटबलको महाकुम्भ आज (विहिबार) देखि उत्तर अमेरिकामा सुरु हुदै छ । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात विश्वव्यापी खेलका रुपमा समेत लिइने भएका कारण पनि यस प्रतियोगीतालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। सबैतिर चर्चामा रहेको फिफा विश्वकप २०२६ को खेल आज (विहिबार) रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ ।
मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्ने छन् । यो खेल नेपाली समय अनुसार मध्यराति १२ बजेर ४५ मिनेटमा सुरु हुने छ । विश्व फुटबलकै सबैभन्दा ठूलो मेला, अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा विश्वकपको २३ औं संस्करण हो ।
सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आथित्यता गरेपछि फिफा विश्वकप २०२६ को औपचारिक सुरुवात हुनेछ । विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा जम्मा भइरहेहका छन् । ४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर यो फुटबल महाकुम्भका लागि तयार भएका छन् ।
फिफा विश्वकपको एक सय वर्ष लामो इतिहासमा २३ औं संस्करण अहिलेसम्मकै ठूलो र ऐतिहासिकका रुपमा लिइएको छ । विश्वकप सुरु हुनुअघि नै यस संस्करणमा धेरै कीर्तिमानहरु बनिसकेका छन् । अब विश्वकप सुरु भएपछि मैदान भित्र फुटबल खेलाडीहरुले पनि अझ अरु कीर्तिमान थप्न सक्छन् । यस अर्थमा यो विश्वकप ठूलो छ कि यस पटक अहिलेसम्मकै धेरै टिम सहभागी हुँदैछ ।
यस पटकको मुख्य विशेषता विश्वकपमा अहिलेसम्मकै धेरै ४८ राष्ट्र सहभागी हुँदैछन् । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको ९६ वर्षे इतिहासमा पहिलो पटक तीन राष्ट्र संयुक्त रुपमा आयोजक बनेका हुन् । यस्तै टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने एकै विश्वकपमा कीर्तिमानी १०४ खेल हुँदैछ ।
जुन कतार विश्वकपमा भएको भन्दा ४० खेल बढी हो । फिफा विश्वकप २०२६ मा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्रले खेल्दैछन् भने अफ्रिकाबाट १० र एसियाबाट ९ राष्ट्रको सहभागिता हुनेछ । उत्तर र दक्षिण अमेरिकाकाबाट ६(६ तथा ओसिया क्षेत्रबाट एक टिमले विश्वकप खेल्दैछन् । टिम संख्या बढेपछि यस पटक खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ । यसअघि विश्वकप खेलेर उपाधि जितिसकेका २२ खेलाडी समेत छन् भने कम्तीमा एक पटक विश्वकप खेलेका ३५७ खेलाडी छन् ।
यस्तै ९८१ खेलाडी पहिलो पटक फिफा विश्वकपको अनुभव लिनका लागि तयार छन् । अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा खेलहरू आयोजना गरिनेछन् । विश्व फुटबलको इतिहासमा यो आयोजनालाई नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ । फिफा विश्वकप तीन दशकपछि उत्तर अमेरिका फर्किएको छ । यस पटक एक होइन दुई होइन तीन राष्ट्र संयुक्त रुपमा विश्वकपको आयोजक बनेका छन् ।
पछिल्लो पटक सन् १९९४ मा उत्तर अमेरिकामा ९अमेरिका० विश्वकप आयोजना भएको थियो । त्यस भन्दा अघि मेक्सिकोले सन् १९८६ मा विश्वकप आयोजना गरेको थियो । यस पटक यी दुई राष्ट्रसँगै क्यानडा पनि आयोजक बनेको छ र क्यानडाले पहिलो पटक पुरुष विश्वकप आयोजना गर्दैछ । यस पटक विश्वकपमा सहभागि ४८ टिमलाई विभिन्न १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४–४ टिम रहेका छन् ।
सुरुमा समूह चरणको खेल हुनेछ । हरेक समूहमा ६ खेल हुनेछ र समूह चरणमा कूल ७२ खेल हुनेछन् । त्यसपछि १२ वटै समूहको शीर्ष दुई टोली सिधै नकआउट चरण अर्थात राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन् भने तेस्रो हुने मध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन् । यस पटक टिम संख्या बढेको समूह पनि ८ बाट बढेर १२ पुगेको छ भने नकआउट चरण पनि थपिएको छ ।
यस पटक थपिएको नयाँ राउण्ड हो राउण्ड अफ ३२ । नकआउट चरण थपिएपछि अब फाइनल पुग्ने टिमले यसअघि भन्दा एक खेल बढी खेल्नुपर्नेछ अर्थात फाइनलिस्ट टिमले ८ खेल खेल्नेछन् । राउण्ड अफ ३२ पछि विगतमा जस्तै प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ । नकआउट चरणमा फाइनलसहित कूल ३२ खेल हुनेछ ।
फिफा विश्वकप २०२६ मा चार नयाँ राष्ट्रले पनि डेब्यु गर्दैछन् । यसअघि विश्वकप खेल्न प्रयास गरेपनि सफल नभएमा चार राष्ट्र विश्वकपको दायारा अझ फराकिलो हुँदा भने यस पटक केही भाग्यमानी बने । तीन चार राष्ट्र हुन् उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओ । उज्वेकिस्तान र जोर्डन एसियाबाट छनोट भएका हुन् भने केप भर्डे अप्रिका र क्यारेवियन राष्ट्र कुराकाओ उत्तर तथा मध्य अमेरिकाबाट छनोट भएको हो ।
ढेड लाख मात्र जनसंख्या भएको कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्र समेत हो । अहिलेसम्मकै ठूलो विश्वकपमा खेल्ने अवसर पाएका चारै टोली डेब्यु विश्वकपमा नकआउट चरण पुग्दै विश्वकपलाई सुखद बनाउने अभियानमा छन् । यस विश्वकपमा सबैभन्दा बुढा खेलाडी स्कटल्याण्डका क्रेग गोर्डन हुन् । उनी विश्वकप सुरु हुने दिनमा ४३ वर्ष १६२ दिनका हुनेछन् ।
यस्तै सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिल्बर्टो मोरा हुन् । उनको उमेर उद्घाटन खेलको दिन १७ वर्ष २४० दिन हुनेछ । दुवै खेलाडी विश्वकपमा डेब्यु गर्ने तयारीमा छन् र यी दुई खेलाडीबीचको उमेर अन्तर नै २५ वर्ष भन्दा बढी छ । प्रतियोगिताको सुरुमा २० वर्षभन्दा कम उमेरका कुल २२ खेलाडी र ४० वर्ष वा सोभन्दा बढी उमेरका ७ खेलाडीहरूले मैदानमा उत्रन सक्नेछन् ।
गोर्डनसँगै उमेरले चार दशक कटेका अन्य खेलाडीहरु पनि यस विश्वकपमा मैदान उत्रँदैछन् । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेर विश्वकप खेल्दैछन् र पहिलो विश्वकप उपाधिको खोजीमा छन् । चार वर्षअघि कतारमा आफ्नै कप्ताद्दीमा अर्जेन्टिनालाई विश्वकप जिताएर करियर पूर्ण बनाएका लियोनल मेसी र रोनाल्डो कीर्तिमानी छैटौं पटक विश्वकप खेल्दैछन् ।
यस्तै क्रोएसियाका कप्तान लुका मोडरिच र मेक्सिन गोलकिपर गुइलेमो ओचाओ पनि उमेरले चार दशक कटिसक्दा यस पटक विश्वकप खेल्दैछन् । यी बाहेक ब्राजिलका नेमार, बेल्जियमका केभिन डे ब्रुएना, इजिप्ट मोहमद सालाह जस्ता खेलाडीका लागि यो विश्वकप अन्तिम विश्वकप बन्न सक्छ । अर्कोतर्फ विश्वकप जितिसकेका केलिएन एमबाप्पे अनी क्लब फुटबलमा स्टार भएर विश्वकपमा डेब्यु गर्ने तयारीमा रहेका एर्लिङ हालान्ड, लामिन यमाल जस्ता स्टारहरु अब नयाँ पुस्ताको नेतृट्ट्व लिन तयार छन् ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकप अहिलेसम्म २२ संस्करण सम्पन्न भइसक्दा अहिलेसम्म १३ राष्ट्रले फाइनल खेल्दा ८ राष्ट्र विजेता बनेका छन् ५ राष्ट्रले उपाधि जित्न सकेनन् । युरोपबाट ५ राष्ट्रले विश्वकप जित्दा दक्षिण अमेरिकाबाट ३ राष्ट्रले उपाधि जितेका छन् । यी दुई महादेश बाहेक अन्य महादेशका टिमले विश्वकप जित्न सकेको छैन ।
जसमा ब्राजिलले सर्वाधिक ५ पटक (सन् १९५८, १९६२, १९७०, १९९४ २००२) विश्वकप जित्दा युरोपियन राष्ट्र इटलीले ४ (१९३४, १९३८, १९८२ र २००६) र जर्मनीले ४ (१९५४, १९७४, १९९० र २०१४) पटक उपाधि जितेको छ । यस्तै अर्जेन्टिनाले ३ (१९७८, १९८६ र २०२२), उरुग्वेले २ (१९३०, १९५०) र फ्रान्सले २ (१९९८, २०१८) तथा इंग्ल्याण्डले १९६६ र स्पेनले २०१० मा उपाधि जितेका छन् ।
यस पटक विश्वकपको अर्को रोचक पक्ष तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन खेल ११ जुनमा मेक्सिकोमा हुने भएपनि अमेरिका र क्यानडामा पनि विश्वकपको पहिलो खेलअघि उद्घाटन समारोह हुनेछ । फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा छुट्टा(छुट्टै उद्घाटन समारोह घोषणा गर्दै त्यसका प्रस्तुती दिने कलाकारहरुको नाम पनि यसअघि नै सार्वजनिक गरिसकेको छ ।
हरेक राष्ट्रमा खेलअघि ९० मिनेटको उद्घाटन समारोह हुनेछ । विश्व चर्चित शाकिरा लगायत कलाकारले मेक्सिकोमा हुने खेलअघि प्रस्तुती दिनेछन् भने अमेरिकामा क्याटी पेरी लगायतले प्रस्तुती दिनेछन् । अमेरिकाको लस एन्जलस र क्यानडाको टोरन्टोमा जुन १२ मा उद्घाटन समारोह हुनेछ । यसैगरी यस पटक विश्वकपको फाइनल खेलमा सुपर बोल शैलीको हाफटाइम शो समेत हुने भएको छ ।
जसमा शाकिरासँगै म्याडोना र दक्षिण कवरियाको बिटीएस ब्यान्डले प्रस्तुती दिनेछन् । फिफा विश्वकप २०२६ को विजेताले विश्वकप ट्रफीसँगै नगद पुरस्कार पनि पाउनेछन् । फिफा विश्वकप को ओरिजिनल ट्रफी विजेता टिमले उपाधि जितेपछि प्रदान गरिनेछ र सेलेब्रेसन गर्न र पोटोसेसन मात्र गर्न पाउनेछ । त्यसपछि फिफाले ओरिजिनल ट्रफी फिर्ता लिएर फिफा विश्वकप विनर्स ट्रफी अर्थात रेप्लिका प्रदान गर्नेछ ।
यस पटक फिफा विश्वकपले विजेताले पाउने पुरस्कार रमक पनि बढेको छ भने समग्र पुरस्कार राशी पनि वृद्धि गरिएको छ । फिफा काउन्सिलले फिफा पुरुष विश्वकप २०२६ मा आयोजना हुने लागि कीर्तिमानी ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत गरिसकेको छ । यो रकम २०२२ को कतार विश्वकपकोफिफा तुलनामा ५० प्रतिशत बढी हो ।
फिफा विश्वकप २०२६ को उपाधि जित्ने टोलीले ५० मिलियन अमेरिकी डलर अर्थात ५ करोड अमेरिकी डलर (७ अर्बभन्दा बढी रुपैयाँ) प्राप्त गर्नेछ, अघिल्लो विश्वकप विजेताले ४ करोड २० लाख अमेरिकी डलर पाएको थियो । यसेतै उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछन् ।
र्टरफाइनलबाट बाहिरिने टोलीले १ करोड ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउनेछन् । समूह चरणमै बाहिरिने टोलीले पनि ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ । विश्वकप खेल्ने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख डलर पाउने निश्चित छ ।