काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग ब्राजिल १-१ को बराबरीमा रोकिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए। इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन।
ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो। भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए।
पहिलो हाफको अन्त्यतिर ब्राजिलले थप गोल गर्ने अवसर सिर्जना गरे पनि लुकास पाकेटाको आकर्षक प्रहार बोनोले बचाए।
दोस्रो हाफमा पनि ब्राजिलले दबाब कायम राख्यो। इगोर थियागोको प्रहारमा बोनोले उत्कृष्ट बचाउ गरे भने राफिन्हा र डानिलोका प्रयास पनि मोरक्कोका गोलरक्षकले सहजै रोके।
खेलको अन्तिम समयमा भने मोरक्को जित नजिक पुगेको थियो। निल एल आयनाउईको लामो दूरीको प्रहार एलिसनले फर्काएपछि रिबाउन्डमा शेम्सदिन ताल्बीले गरेको प्रयासलाई पनि उनले उत्कृष्ट रूपमा रोके।
विश्वकप इतिहासमा कीर्तिमानी छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो नतिजाले अझै धेरै सुधार आवश्यक रहेको संकेत गरेको छ।
प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिल पहिलो पटक विश्वकप खेलिरहेको छ। एन्सेलोटी ब्राजिलको राष्ट्रिय टोलीलाई विश्वकपमा नेतृत्व गर्ने पहिलो विदेशी प्रशिक्षक हुन्।
ब्राजिलले प्रतियोगिताको सुरुआतमा आफ्ना सर्वाधिक गोलकर्ता नेयमारको साथ पाएको छैन। चोटबाट पुनःस्थापना भइरहेका नेयमारले सन् २०२३ यता राष्ट्रिय टोलीका लागि खेल्न सकेका छैनन्।
खेल हेर्न ब्राजिलको सन् २००२ को विश्वकप विजेता टोलीका सदस्यहरू रोनाल्डो, रोबर्टो कार्लोस र काका पनि स्टेडियममा उपस्थित थिए।
पहिलो खेलबाट दुवै टोलीले एक–एक अंक जोडेका छन्। अब ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ।