फेला परेन हेटौंडामा भासिएको गाडी, आफैं असुरक्षित भन्दै फर्कियो भूगर्भविद्को टोली

77

काठमाडौं – हेटौँडा उपमहानगरपालिका वडा नं. १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट दलदलमा भासिएर बेपत्ता भएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन ।

जमिनभित्रै हराएको गाडीका बारेमा अध्ययन गर्न गएको भूगर्भविद्को टोली बुधबार दिउँसो आफूहरू नै असुरक्षित भएको भन्दै काठमाडौँ फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उनले प्रारम्भिक अध्ययन भएको र अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताए । “गाडी कति गहिराइमा छ भन्ने प्रारम्भिक रूपमा थाहा भयो तर पुष्टि भइसकेको छैन,” उनले भने, “अध्ययन भएको छ, यसका आधारमा के नतिजा देखिन्छ थाहा छैन, यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ ।” उनले अहिले अध्ययन रोकिने बताउँदै भने, “हाम्रो सुरक्षाका लागि पनि अध्ययन रोकिन्छ ।”

बेपत्ता भएको गाडी फेला नपरेपछि घटनास्थल पुगेका हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले अब पनि भूगर्भविद् बोलाएर खोजी कार्य गरिने बताएकी थिइन् ।

गाडी भासिएको केहीबेरमै बेपत्ता भएको थियो भने गाडी भासिएसँगै सडकमै दह बनेको थियो । बोलेरोचालक र सहचालक भने भासिनुअघि नै निस्किएकाले दुर्घटनामा पर्नबाट जोगिएका छन् ।

समाचार वर्गहरू