काठमाडौं – ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवं माननिय सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान सिफारिस गरिएको छ।
काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालले अस्पतालमा रहेको स्रोत र साधनले घाइतेहरूको यथोचित उपचार सहज नहुने देखिएकाले देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको हो।
बिहीबार बिहान अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीले विज्ञप्ति जारी गर्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरिएको जनाएका छन्।
“माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरूमा गरी २५-३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ‚” विज्ञप्तिमा उल्लेख छ‚ “हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ।”
भण्डारीको काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति सिलिन्डर विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भण्डारी र उनकी आमा ८६ वर्षीय आमा हरिकला घाइते भएका थिए। उनीहरूको कीर्तिपुर अस्पतालमा राति साढे १० बजेदेखि आइसीयूमा उपचार भइरहेको छ।