मुख्य राजमार्गमा ट्रली बस चलाउने कुलमानको तयारी

95

काठमाडौं – नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ट्रली बस सञ्चालनको तयारी गरेका छन् ।

मन्त्री घिसिङले नेपालका मुख्य सडकहरूमा विद्युतीय ट्रली बस सञ्चालनका लागि सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्।

बुधबार मन्त्रालयमा एडिबी नेपाल आवासीय नियोगका प्रमुख आर्नोड कुश्वा लगायतको उच्चस्तरीय टोलीसँग भएको ‘दिगो सहरी विद्युतीय परियोजना’ सम्बन्धी छलफलका क्रममा मन्त्री घिसिङले यस्तो प्रस्ताव राखेका हुन्।

उनले भने, ‘काठमाडौंको चक्रपथसहित काठमाडौं–धुलिखेल, पोखरा–मुग्लिन, बुटवल–नारायणघाट, बुटवल–भैरहवा र विराटनगर–धरानलगायतका सडकहरू अहिले विस्तार भइरहेका छन्। यी फराकिला सडकको एक लेनलाई ट्रली बसका लागि मात्र प्रयोग गर्न सकिने सम्भावना छ। तसर्थ, यसको सम्भाव्यता अध्ययनका लागि एडिबीले आवश्यक सहयोग गरिदिनुपर्‍यो।’

यसअघि चीन सरकारको सहयोगमा विक्रम सम्वत् २०३३ सालमा काठमाडौंको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस सेवा सञ्चालनमा आएको थियो।

यद्यपि, व्यवस्थापकीय कमजोरीका कारण २०६६ सालदेखि उक्त सेवा पूर्ण रूपमा बन्द भयो। अहिले मन्त्री घिसिङले पुनः आधुनिक प्रविधिसहितको ट्रली बस प्रणाली ब्युँताउने योजना अघि सारेका हुन्।

समाचार वर्गहरू