मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान, आजदेखि काठमाडौँमा पानी पथान्तरण हुने

82

काठमाडौं – एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ। आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो ।

कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान सिन्धुपाल्चोक हेलम्बुको अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए ।

वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ स्वयम् उपस्थित थिए । उनको संयोजनमा भएको वार्तामा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, सडक विभागका प्रतिनिधिहरू र स्थानीय पीडितहरूबीच सहमति जुटेको वार्तमा सहभागी पत्रकार बिष्णु खड्काले बताए ।

सहमति अनुसार, २०७८ असारमा आएको विनाशकारी बाढीले क्षति पु¥याएका भौतिक संरचना तथा व्यक्तिगत सम्पत्तिको वास्तविक मूल्यांकन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तीन महिनाभित्र गर्न गराइनेछ। मूल्यांकनमा पीडित पक्षका तीन जना प्रतिनिधि समेत रहनेछन् ।

मेलम्ची–हेलम्बु एकीकृत विकास कार्यक्रम आगामी आर्थिक वर्षदेखि शुरु गर्ने सहमति पनि वार्तामा भएको छ । खानेपानीको मुहानसम्म पुग्ने सडकका लागि यसअघि २५ करोड रुपैयाँ मात्र विनियोजन गरिएकोमा अब त्यसलाई बढाएर १ अर्ब रुपैयाँको बजेटसहित बहुवर्षीय ठेक्काबाट निर्माण गर्ने सहमति भएको काँग्रेस जिल्ला सचिव रमेश भण्डारीले जानकारी दिए।

वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने निर्णय गरेका छन्, जससँगै आजदेखि मेलम्चीको पानी पुनः काठमाडौँमा पथान्तरण हुने भएको हो ।

1

समाचार वर्गहरू