(काठमाडौ) – नेपाल यातायात मजदुर संघले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई कोभिड-१९ बाट सुरक्षीत राख्नु पर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
संघले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । संघका केन्द्रीय अध्यक्ष धर्मराज भन्डारीद्घारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – यातायात क्षेत्रमा कार्यरत श्रमिकहरु स्वास्थ्यकर्मी जतिकै अग्रपंक्तिमा रहि काम गर्दै आईरहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप पिपिई लगायत सुरक्षा सामाग्रीहरुको व्यवस्था गरिनुपर्छ तर अझै पनि पिपिई बिना नै स्वास्थ्यलाई जोखिममा राखी काम गर्नु परिरहेको छ ।
यसले यातायात मजदुर मात्र होइन समुदायमा समेत जोखिम पुर्याउने भएकोले विशेष ध्यान दिन आवश्यक छ । अहिले भारतबाट दिनहुँ हजारौंको संख्यामा नेपाल भित्रिरहेका नागरिकहरु बिना माक्स र क्वारेन्टाइन गन्तव्यमा पुर्याउनु परेको छ तर मजदुरलाई पिपिईको व्यवस्था गरेको छैन यसले जोखिम निम्तिन सक्छ ।
यसैगरी,यातायात मजदुरहरुलाई व्यक्तिगत सुरक्षाका सामाग्री,साबुन, स्यानिटाइजर , उपयुक्त लुगा धुने ठाँउ , शौचालय सुविधा , नियमित कोभिड-१९ को निशुल्क परिक्षण गर्नु पर्ने, सवारी साधन, आवास, टिकट कार्यालय, डिपो सरसफाईको व्यवस्था गर्नु पर्ने, संक्रमित भएमा तलब सहितको बिदा र दुई लाखको बिमा हुनु पर्ने,लगायतका माग विज्ञप्तिमा उल्लेख छ ।
यातायात मजदुरहरुको रोजगारी सुनिश्चितताकोलागी सरकारी नीति युनियन समेतको सुझाव लिई तत्काल ल्याउनु पर्ने, कोभिड-१९कोबारे मजदुर , व्यवस्थापक सबैलाई सचेतना गराउनु पर्ने र यातायात क्षेत्रको सम्पुर्ण समस्या समाधान र नीति निर्माणकालागी मजदुर युनियन ,व्यवसायी सम्मेलित त्रिपक्षीय संयन्त्र गठन गर्नु पर्ने माग पनि उल्लेख छन् ।